मुगलानमा निभेको त्यो दियो र अधुुुरो त्यो सपना !



मैन सधैं आफु जल्छ,बलेर दियो छर्छ उज्यालो दिप अनी बिस्तारै ढल्छ। न कुनै अपेक्षा राखेको हुन्छ न त कुनै गुनासो नै छ जल्नुमा। रापमा जल्छ, हावाहुरी बतासमा नि जलिरहन्छ, एकोहोरो प्रकाश छरिरहन्छ जबसम्म निभ्दैन त्यो दियो। अध्यारोमा झन दिप उज्वल भएर बल्छ अन्तीम क्षणसम्म तपिरहन्छ। आज सायद त्यही दियो निभेर होला पुरै बस्ती अध्यारो छ। गाउ शुन्य छ। हो, आज त्यही भएर होला गाउ-बस्ती नै सुनसान छ।
शम्भु राई "बाछाना"

किनकी उनी त्यो बस्ति र झुपडिको लाल्टिन नै थियो, सुर्योदयका नौला किरण देखाउने झ्याल थियो। त्यो बस्ती र गाउ सँगको नाता गहिरो थियो। एउटा आमाको काख रितियो,एक श्रीमतीको सिउदो उजाडियो, एक सन्तानले अभिभावक गुमायो, एक साथीले असल मित्र गुमायो। त्यही भएर आज गाउ-बस्तिमा पहिरो गयो। शोकमा डुब्यो, पुरै गाउ नै आशुमा डुब्यो।
सपना ठुलो थिएन सायद। यसैपनी गाउमा हुर्केका सामान्य परिवारिक घरनामा जन्मेकालाई इज्जतले कमाएको गास,बास र कपासमा नै आत्मा सन्तुष्टी मिल्छ। गाउका झुपडिहरु साना हुन्छन् तर मन भने धेरै फराकिला। आफ्नो इमान र इज्जत बचाईराख्न जिबनको आहुती नै किन दिन नपरोस तर इज्जत सँग सौदाबजी कदापी गर्दैनन् । “जिउदाको जन्ती मर्दाको मलामी” सायद यो काहावत गाउले परिबेशलाई हेरेर बनाइएको हुनु पर्छ। गाउमा यो भनाइ चरितार्थ साबित हुन्छ। गाउका मान्छे साचिकै यस्तै हुन्छन् ।
त्यसैले उनका सपना पनि यो पङ्कतिकारको भन्दा सायदै फरक थियो होला। त्यही इमान्दारी र मेहनतले दुई पैसा कमाउला अनी घरपरिवार र समाज सँग हासिखुसी रहौला। कथा बस्तु एउटै भएपनी केही परीघटना र परीबेश अथवा भनौ नउघारिएको पर्दा भित्र रहेका बिभिन्न र फरक पात्रहरु पनि होलान् वा रहलान् । आखिर गाउ, बस्ती र शहर छोडि मुगलान पस्नु कसैको रहर नभै नेपालीको बाध्यता नै हो।
प्रबास बसाइमा पूर्व मेची र पश्चिम महाकालीका नेपाली सँग भेट्घाट हुने अवसर जुर्ने गर्छ। केही शिक्षण पेशाका छन्, केही बेङ्किङ क्षेत्रका छन् ,रिटेल मार्केटिङका छन् ,सुरक्षा संयन्त्र, मेडिकल सेक्टर, आदी बिभिन्न कम्पनिहरुमा भने कोही आफ्नै ब्यवसाय गरेर बसेका छन्। धेरै जसो नेपाली सँग कुरा गर्दा यही भन्छन् हामीले नेपाल मै गर्नु पर्छ, यहाँ जे जती गरेपनी फर्केर आफ्नै माटोमा जानु पर्छ। यहाँ बगाएको पसिना त्यही बगाउनु पर्छ। नेपाली माटोमा जन्मेर त्यो माटोले दिएको पहिचान र लगाएको रिण त्यही माटोको लागि समर्पित गर्नु पर्छ। हाम्रो जिबन लीला माटोमै मिल्नु छ सो त्यही नेपाली माटोमा अन्तिम सास फेर्नु छ।
तर त्यो सौभाग्य सबैलाई कहाँ मिल्दो रहेछ र खै! भाग्यले लेखेको मेटेर मेटिन्न भनिन्छ। सायद चित्त बुझाउनलाई पनि यो भनाइलाई आत्मसाथ गरिएको होला। हुने हार दैब नटार! कल्कलाउदो जोबन, युवा जोश, सुगठित शरीर लिएर त्रिभुवन बिमानस्थलमा अन्तिम चोटि नेपाल आमालाई हेरेर आँखा रसाउदै बोयिङ चढ्दै गर्दा कुड्किएको मनलाई सम्हालेर मुगलान पसेका ति युवा सकुशल फर्कियोस पशुपतीनाथ सँग यही कामना छ । तर वास्तविकता कहिलेकही कहालीलाग्दो हुने गर्छ। यस्तै घटना घट्यो केही समय अघी कुबेत मा । जहाँ छ जना नेपाली युवाहरुले ज्यान गुमाए ।
पाल्पाका एक बहादुर गाहा र सिराहाका गन्दराम चौधरिका सपना एउटै थियो होला। ताप्लेजुङ्गका बसन्त गुरुङ र दाङ्गका श्याम नारायण चौधरीले र अन्य दुई साथीहरुले पनि परिवार सँग सुन्दर सपनाहरु सजाएका थिए होलान् ।
तर आज क्षण भरमै ति सपनाहरु चुडिएर गए। एक दिप झै परिवारको खुशिका लागि आफु मैन झै जलेर उज्यालो छर्दाछर्दै मुग्लानमा  ढल्न पुगे । सपनाको त्यान्द्रो लिएर प्रदेशिएका उनिहरुको अधुरै रह्यो त्यो सपना। अब उनिहरु अतित भए । यादमा मात्रै रहे। उनका सपना अपुरो रहे। उठेर मुग्लान पसेका ति युवाहरु बाकसमा सुतेर फर्के। उहाहरु सबैजना प्रती हार्दिक श्रद्दान्जली ! परिवारमा धर्यधारण शक्ती प्रदान होस।

बिदेशमा रुपैयाको बोट छैन। पैसा हैन पासो छ। देशमा स्थायित्व कायम हुन खोज्दैछ। युवामैत्री बनोस। लाखौं युवाहरु स्वदेशमै फर्केर केही गर्न चाहन्छन। त्यो बाताबरण निर्माण होस्। रेमिटन्सले देश नचलोस ।
युवा हरु उद्दम्शिल बनौ । आफ्नै पौरखले देश निर्माणमा जुटौ। जन्मियौ नेपाल धर्तिमा, केही गरौ यही धर्तिमा, अन्तिम सास पनि फेरौला यही नेपाल आमाको काखमा।
www.hatuwagadhionline.com (विचार ब्लग)

Comments

Popular posts from this blog

Failure at your first attempt might just be a bad time- keep your patience and aspiration alive until your clock clicks in

Poem- "Mind is Without Fear When You're Heartless..."

भाकेको छु तिम्रो कसम..... 9 September 2013 at 01:48